धनकुटाबाट सुन जस्तो देखिने धातु र नगद रुपैयाँ सहित दुई जना पक्राउ
धनकुटा,२९ बैशाख । धनकुटाबाट सुन जस्तो देखिने धातु र नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नं.८, जाँते बस्ने ३० बर्षिया मनोज विश्वकर्मा र सोही स्थानका १९ बर्षिया धिरज विश्वकर्मा रहेका छन् ।
आइतबार राती करिब १०:३० बजे जिल्लाको सांगुरीगढी गाउंपालिका ६ स्थित भेडेटार चोकमा चेकजांचको क्रममा धनकुटाबाट धरानतर्फ जांदै गरेको प्र.१-०२–०५४ प २१६५ नं.को FZ मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरुलाई शंका लागी जाँच गर्दा चालक धिरज विश्वकर्माले बोकेको कालो रंगको झोलाभित्र चाँदीजस्तो देखिने धातुका विभिन्न गरगहनाहरू, सुन जस्तो देखिने धातुका स-साना ५ थान टुक्राहरू र नगद रुपैयाँ समेत फेला परेको तर सो सम्बन्धी बिलबिजक नभएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
सुनचाँदी व्यवसायी संघसंगको समन्वयमा रीतपूर्वक तौल गर्दा फेला परेका सुन र चाँदी जस्तो गरगहनाहरूमा चाँदी जस्तो देखिने विभिन्न गरगहनाहरू जम्मा तौल ३,१४९.१३ ग्राम मूल्य रू ५ लाख ४१ हजार ३ सय २४,पोतेमा भएको सुन जस्तो देखिने पेन्डेन्ट थान–५ र सुन जस्तो देखिने स–सानो टुक्रा थान–५ को जम्मा तौल १२.७१० ग्राम मूल्य रू २ लाख ८ हजार ६ सय ७३, ५ सय तथा १ हजार दरको नोट जम्मा रु.८५ हजार ५ सय र प्र. १–०२–०५४ प २१६५ नं.को FZ मोटरसाईकल १ थान रहेको छ ।
पक्राउ परेकालाई भोलि बैशाख ३० गते आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइने प्रहरीले जनाएको छ ।


