रारा गोल्डकपको उपाधी झापाको विर्तामोड युनाइटेडलाई
देब याखा/जेठ ६ ,चौबिसे । धनकुटामा जारी १२ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधी झापाको विर्तामोड युनाइटेड क्लवले जितेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधी जितेको हो । झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरेका थिए । उनले पहिलो हाफको ४१ औं र दोस्रो हाफको ३० औं मिनेटमा गोल गरेका थिए । खेलको अन्त्यतिर मोरङका अनोज गैरेले सान्त्वना गोल फर्काए । फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै झापाका आशिष चापागाईले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफी प्राप्त गरे ।
उपाधी सँगै झापाको विर्तामोड युनाइटेडले नगद ७ लाख रुपैया सहित ट्रफी प्राप्त गरेको छ । उपविजेता वनेको एलएक्स सिटी एफसीले नगद ३ लाख रुपैया र ट्रफीमा चित्त वुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएक्स मोरङका देवेन्द्र तामाङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, प्रतियोगिताभर सर्वाधिक ३ गोल गर्दै झापाका मौसम सुब्बा सर्वाधिन गोलकर्ता घोषित भए । त्यस्तै रारा क्लवका गोलकिपर महेश लिम्बू प्लेयर अफ द इयर, उदयीमान खेलाडी प्रदिप मगर घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता सहित उत्कृष्ट खेलाडीहरुलाई पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बू, रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
रारा फुटवल क्लवको आयोजनामा गत वैशाख २९ गते देखि संचालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।




