धनकुटाबाट बोलेरो पिक अपमा लोड गरिएको ८ सय ९० किलो लागुऔषध गांजा सहित एक जना पक्राउ,चालक फरार
धनकुटा,१० जेठ । धनकुटाबाट पिकअप गाडीमा लोड गरिएको लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।
आज बिहान करिब १ बजे प्रहरी चौकी ओख्रेले सांगुरीगढी गाउंपालिका २ सेलिङ स्थित मोरङको सीमानाबाट बोलेरो पिकअपमा लोड गरिराखेको २९ वटा बोराभित्र ८ सय ९० केजी लागुऔषध गाँजासहित साँगुरीगढी गापा २ बुढीमोरङका अन्दाजी १९ वर्षीय उल्लास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि तत्काल प्र.स.नि. विनोदकुमार राजवंशीको कमाण्डमा खटिएको टोली साथै इप्रका राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा खटिएको २० जनाको टोली तत्काल थप परिचालन भएकोमा उक्त सपोर्ट टोली नपुग्दै प्र १-०२-००२ च ५२३८ नम्बरको उल्लेखित महिन्द्रा पिकअपका चालक भने ड्युटीमा रहेका प्रहरी जवान संजय कुमार थारूलाई धकेलेर लडाई हामफाली जंगलतर्फ फरार भएका छन् ।
लडेर अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागी निज प्रहरी जवान थारु सामान्य घाइते भएका छन् । निजको डाँडाबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल तथा ४ थान मोबाइल फोनसमेत बरामद भएको छ । फरार चालकको पहिचान खुलिसकेको हुँदा जि.प्र.का. धनकुटा तथा मोरङको संयुक्त टोलीबाट तीव्रताका साथ खोजतलास भइरहेको साथै नियन्त्रणमा लिइएको ब्यक्ति र बरामद सामानलाई जिप्रका धनकुटा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


