मेचीनगर स्थित टिमाई खोलामा एक अज्ञात पुरुषको शव डुबेको अवस्थामा फेला
झापा । मेचीनगर–१० खयरडाँगीस्थित टिमाई खोलामा एक अन्दाजी ४०/४५ वर्षीय पहाडी मूलको जस्तो देखिने अज्ञात पुरुषको शव डुबेको अवस्थामा फेला परेको छ।
साँझ १२:३० बजेतिर फेला परेको शवबारे इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, उक्त व्यक्ति केही दिनदेखि धुलाबारी बजार क्षेत्र वरिपरि माग्दै हिंड्ने गरेको बताइएको छ।
प्रहरीका अनुसार, शव टिमाई खोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो। कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ।
घटनास्थल धुलाबारी प्रहरी कार्यालयबाट करिब २ किमी पश्चिम–दक्षिणतर्फ पर्छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


