जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको आज (मंगलबार) बिहान मृत्यु भएको छ।
प्रहरीका अनुसार मृतक झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर श्रेष्ठ हुन्, जसलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।
मोरङ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले श्रेष्ठको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
उनी जेठ १५ गते अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएका थिए। प्रहरीका अनुसार आज बिहान अचानक ज्वरो, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:२० बजे उनलाई अस्पताल पुर्याइएको थियो।
तर, उपचारकै क्रममा बिहान ११:३० बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि पनि हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।


