सांगुरीगढी स्थित श्री भगवती प्राबिको दुई कोठे भवन निर्माणको शिलान्यास
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित श्री भगवती प्राथमिक विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
KTK-Belt गैरसरकारी संस्थाको पहल तथा Vertical Biodiversity Fund को आर्थिक सहायतामा भवन निर्माण कार्य सुरु गरिएको हो। ‘शैक्षिक गुणस्तर सुधार तथा भौतिक निर्माण स्तरउन्नोति कार्यक्रम’ अन्तर्गत सञ्चालित यस परियोजनाबाट २४ लाख ७५ हजार रुपैयाँको लागतमा भवन निर्माण हुने जानकारी प्राप्त भएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विद्यालयको भौतिक पूर्वाधार मजबुत बनाउँदा शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो।
भवन निर्माण कार्य यसै वर्ष भित्रै सम्पन्न गरिने लक्ष्य राखिएको छ। सो अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा शिक्षा क्षेत्रको विकासका लागि यस्तो प्रकारको सहकार्य र लगानीले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।




