धनकुटाबाट ड्युटीमा रहेका प्रहरीलाई धकेलेर लडाई घाइते बनाएर गांजा ओसारपसारमा संग्लग्न फरार एक जना पक्राउ
धनकुटा । धनकुटाबाट गांजा ओसारपसारमा संग्लग्न फरार एक जना पक्राउ परेका छन् ।
जिल्लाको साँगुरीगढी गाउँपालिका २ सेलिङ स्थित मोरङको सीमानाबाट गत जेठ १० गते धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ ओसारपसार भैरहेको गाँजा नियन्त्रणमा लिनेक्रममा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालकले ड्युटीमा रहेका प्रहरी जवान संजय कुमार थारूलाई धकेलेर लडाई घाइते बनाई हामफाली जंगलतर्फ चालक फरार भएका थिए ।
निज चालक साँगुरीगढी गाँउपालिका २ बुढीमोरङ्गका २५ बर्षिया सागर लिम्बूलाई खोजतलासको क्रममा गत जेठ २५ गते धनकुटाको छथरजोरपाटी गाँउपालिका १ चिसापानीबाट को २० प १८९८ नम्बरको मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ परेका लिम्बुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ तथा मुलुकी संहिताको दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई बाधाविरोध गर्न नहुने बिरूद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


