धनकुटाको साँगुरीगढीमा महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका साथ अचार बनाउने तालिम सुरु
हिराराज राई,धनकुटा । महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटाको साँगुरीगढी गाउँपालिका–९, आहालेमा अचार बनाउने तालिम सुरु गरिएको छ। पाँच दिनसम्म चल्ने उक्त तालिम गाउँपालिका कार्यालय भेडेटार, धनकुटाको आयोजनामा जेठ २६ गतेदेखि सुरु भएको हो।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष जितेन्द्र राई र उपाध्यक्ष मुना राईले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा दुबै नेतृत्त्वले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिम बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म सञ्चालन भइरहेको छ। प्रशिक्षक सविना राईको संयोजनमा भइरहेको तालिममा सहभागी महिलाहरूले परम्परागत तथा आधुनिक अचार बनाउने सीप, उत्पादनको गुणस्तर कायम राख्ने तरिका, उचित प्याकेजिङ तथा बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।
स्थानीयस्तरमै सहज रूपमा उपलब्ध कच्चा पदार्थहरूको प्रयोगमार्फत अचार उत्पादन गर्न तालिम केन्द्रित गरिएको छ, जसले महिलाहरूलाई उद्यमशील बनाउने र घरेलु आम्दानीको स्रोत विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
गाउँपालिकाले यस्ता तालिमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने र थप महिला समूहहरूलाई समेट्ने योजना अघि सारेको छ। यसले स्थानीय तहमा महिला सशक्तिकरण तथा आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





