पाख्रीबास वडा नं. ९ मा मगर र तामाङ दाह संस्कार स्थल निर्माण
डेविट ठाडा मगर/धनकुटा,३१ जेठ । धनकुटाको पाख्रीबास, नगरपालिका वडा नं.९ मा मगर र तामाङ समुदायको संस्कार, संस्कृति र परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म जगेर्ना गर्ने उद्देश्यले दुई जातिको दाह संस्कार स्थल निर्माण कार्य एकसाथ सुरु गरिएको छ।
मगर दाह संस्कार स्थल निर्माण अभियान मगर समुदायको अगुवाइमा सुरु गरिएको हो। सामाजिक एकता र सहकार्यलाई आत्मसात गर्दै थालिएको यस अभियानले गाउँमा उत्साह थपेको छ। वडा नं. ९ का वडा अध्यक्ष सम्झना आलेका अनुसार मगर समुदायको सक्रियता, वडा कार्यालयको सहयोग र समाजसेवीहरूको हातेमालोमा काम अगाडि बढिरहेको छ।
विशेषगरी वैदेशिक रोजगारीमा रहेका मगर समुदायका युवाहरूले आफ्ना दिवंगत आमाबुवाको स्मृतिमा आर्थिक सहयोग पठाउँदै थातथलो र संस्कृतिप्रति प्रेम प्रकट गरिरहेका छन्।गाउँलेहरूले श्रमदान, आर्थिक सहयोग र सामाजिक सद्भावको मिसाल प्रस्तुत गर्दै मगर दाहा स्थल निर्माणमा सक्रिय हातेमालो गरेका छन्। वडा कार्यालयले यो कामलाई विशेष प्राथमिकतामा राख्दै ३ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको वडा अध्यक्ष आलेले जानकारी दिइन्।
यसैगरी, धर्मशाला तामाङ दाह संस्कार स्थल निर्माण अभियान पनि तामाङ समुदायका अगुवाहरूको पहलमा समान उत्साहका साथ अघि बढिरहेको छ। सामाजिक सद्भाभाव ,सदाचारका साथ प्रत्येक घर-धुरी हिसाबले आर्थिक सहयोग संकलन गरेका छन् भने स्थानीय गाउँलेहरूले श्रमदान सहित साथ दिइरहेका छन्। वडा कार्यालयले तामाङ दाहा स्थल निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष आलेले बताइन।
सामाजिक एकता, संस्कृतिप्रतिको प्रेम र सामूहिक भावनाको अनुपम उदाहरण बनेका यी दुई साझा अभियानले पाख्रीबास नगरभित्र मात्र नभई आसपासका बस्तीहरूमा पनि सकारात्मक ऊर्जा र समन्वयको वातावरण सिर्जना गरेको छ।स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, यी अभियानहरू सफलतापूर्वक सम्पन्न भएमा समुदायको संस्कार-संस्कृति जगेर्ना मात्र नभई सामाजिक एकताको नयाँ अध्याय सुरु हुनेछ।







