मोरङमा दाइजोको कारण पत्नीको हत्या, पौडेल पक्राउ
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–८, तोरीबारीका २२ वर्षीय प्रेम पौडेललाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पौडेलमाथि उनकी पत्नी २० वर्षीया कविता पौडेललाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार केही दिन अघि प्रेमले आफ्नी श्रीमती कवितालाई कुटपिट गरेका थिए। त्यसको केही समयपछि कविताको मृत्यु भएपछि माईती पक्षले हत्या गरिएको दाबी गरेका छन्। मृतक कविताका परिवारका अनुसार प्रेमले बारुला काट्न गएका बेला बारुलाले टोकेको रिसमा घर फर्किएर कवितामाथि कुटपिट गरेका थिए।
माईती पक्षले प्रेमले पटकपटक दाईजोको विषय उठाई मानसिक र शारीरिक यातना दिने गरेको र सोही कारण हत्या भएको आशंका व्यक्त गरेका छन्। मृतकका आफन्तहरूका अनुसार विवाहपछिका महिनादेखि नै प्रेमले दाईजोको कारण विभिन्न बहानामा कवितालाई सताउने गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले पौडेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।-स्रोत :सुन्दरहरैचा अपडेट


