झापाको बिर्तामोडमा वेवारिसे एक पुरुष मृत फेला
झापा । सडक किनारमै जीवन बिताउँदै आएका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब ८:३० बजेको समयमा बिर्तामोड नगरपालिका–१ स्थित हिरो मोटरसाइकलको शोरुम अगाडि मागेर खाने गरेका एक पुरुष मृत अवस्थामा घोप्टो परेको अवस्थामा फेला परे। स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुवास शेर्पाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
अन्दाजी ६५ देखि ७० वर्ष उमेरका ती पुरुष तराईवासी मूलका देखिन्छन्। तर, हालसम्म उनी को हुन् भन्ने पहिचान खुलेको छैन। प्रहरीका अनुसार मृतक मागेर खाने, सडकमा बस्ने प्रवृत्तिका थिए।
घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली समेत खटिएको छ। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बिहान ९:४५ बजे मृतकको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल पठाइएको जानकारी प्रहरीले दिएको छ।


