साँगुरीगढीको खुँडी–पोक्ला सडक खण्डको ग्राभेल सम्पन्न
हिराराज राई,धनकुटा । कोशी प्रदेश सरकारको विनियोजन तथा धनकुटाका माननीय पूर्व अर्थ राज्यमन्त्री निरन राईको विशेष सिफारिसमा साँगुरीगढी गाउँपालिका–८ स्थित खुँडी, पोक्ला, केराबारी र सिंकुला सडकखण्डमा आर्थिक वर्ष २०८१/०८२ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त बजेट अन्तर्गत खुँडी र पोक्ला सडकखण्डमा ग्राभेल निर्माण कार्य सम्पन्न भएको छ।
वडा नं. ८ का अध्यक्ष हृदयनारायण प्रसाद राईका अनुसार विनियोजित बजेटबाट खुँडी र पोक्ला क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता पुग्ने गरी ग्राभेल सडक निर्माण कार्य सम्पन्न गरिएको हो। उनका अनुसार यस सडकले स्थानीय कृषि उत्पादनको बजार पहुँच बढाउनुका साथै सामाजिक तथा आर्थिक गतिविधिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
अध्यक्ष राईले प्रदेश सरकार तथा पूर्व राज्यमन्त्री निरन राईप्रति आभार व्यक्त गर्दै बाँकी सडकखण्डहरू — केराबारी र सिंकुला — मा समेत आगामी दिनमा विकास निर्माणका कार्य अगाडि बढाइने जानकारी दिए।




