साँगुरीगढीमा तीन दिने सीपमूलक तालिम सम्पन्न
हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ९, हर्दियाको आयोजनामा “गरिबसँग विशेषवार कार्यक्रम” अन्तर्गत तीन दिने सीपमूलक तालिम सम्पन्न भएको छ। उक्त तालिम असार ११ गतेदेखि १३ गतेसम्म वडा कार्यालय, हर्दियामा सञ्चालन गरिएको हो।

कार्यक्रम वडा नं ९ का अध्यक्ष जीत बहादुर राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष मुना राई विशेष अतिथि रहनु भएको थियो भने योजना प्रमुख दोर्ण राई र ईन्जिनियर दिपक राई अतिथिको रूपमा सहभागी हुनु भएको थियो। तालिमका प्रशिक्षकहरू अनिल राई र राजु प्रसाद आचार्य रहनु भएको थियो।
तालिममा सहभागी महिलाहरूलाई घरेलु सरसफाइ तथा दैनिक उपयोगी सामग्रीहरू—जसमा सरफ, फिनेल, हारपिक र भाँडा माझ्ने झोल साबुन बनाउने तरिका व्यावहारिक अभ्याससहित सिकाइएको थियो।
उक्त तालिमले सहभागी महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भरता विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ। तालिमको उद्देश्य गरिब तथा विपन्न वर्गका महिलाहरूलाई घरेलु स्तरमै उत्पादन गर्न सक्ने सीप प्रदान गरी उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको आयोजकले बताएका छन्।
साथै, सहभागीहरूलाई तालिम समापन सँगै हिल टेङ् समेत वितरण गरिएको थियो, जसले उनीहरूको सिप प्रयोगमा सहजता पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रम साँगुरीगढी गाउँपालिका-९ को वडा कार्यालय हर्दियामा सफलतापूर्वक सम्पन्न गरिएको हो।


