सांगुरीगढीको तातोपानीमा सृजनशील युवा क्लबद्वारा प्रत्येक शुक्रबार श्रमदान अभियान सुरू
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा अवस्थित सृजनशील युवा क्लबले प्रत्येक शुक्रबार श्रमदान अभियान सुरू गरेको छ। क्लबका अध्यक्ष तिकाराम राईको नेतृत्वमा शुरु गरिएको यो अभियान अन्तर्गत स्थानीय पूर्वाधार तथा सरसफाइमा ध्यान केन्द्रित गरिएको छ।
गएको असार २० गते (शुक्रबार) क्लबले सहिदभूमि गाउँपालिका–७ चिमराह र साँगुरीगढी गाउँपालिका–८ तातोपानीको सिमाना क्षेत्रमा रहेको तमोर नदीको झोलुङ्गे पुलदेखि तातोपानी गाउँसम्मको बाटो सरसफाइ तथा मर्मतको काम गरेको थियो। क्लबका अध्यक्ष राईका अनुसार बिग्रिएका तथा भत्किएका अप्ठ्यारा भागहरू सुधार गर्दै, सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाइएको छ।
“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसनी, नारी हिंसा छोड्” भन्ने नारा सहित “श्रमदान अभियान २०८२” लाई अघि बढाइएको हो।
अध्यक्ष राईले आगामी शुक्रबार टरीटोलस्थित ठलुङ्टार पार्कमा श्रमदान गरिने जानकारी गराउँदै, क्लबले स्थानीय पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ अभियानलाई निरन्तरता दिने बताए। साथै, उनले समाजमा बिग्रिएका, भत्किएका तथा समस्यामा परेका संरचनाहरूको मर्मत र संरक्षणमा क्लबको सक्रिय सहभागिता रहने प्रतिवद्धता समेत जनाए।




