धनकुटाबाट लागुऔषध सहित पाख्रिबासका एक जना पक्राउ
धनकुटा,२४ असार । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पाख्रिबास नगरपालिका ४ का २७ बर्षिया मिगुर शेर्पा रहेका छन् ।
शेर्पालाई धनकुटा नपा ७ जिरो प्वाइन्टबाट पक्राउ गरिएको हो ।
आज दिउंसो करिब २ बजे फोक्लैण्ड टापुबाट पाख्रीवास तर्फ आउँदै गरेको को १ ब ११०३ नं.को यामाहा मोटरसाइकललाई ट्राफिक प्रहरी कार्यालय, धनकुटाबाट खटिएको प्रहरी टोलीले सवारीसाधनहरू जाँच गर्ने क्रममा शेर्पामाथि शंका लागि निजको शरीर तलासी लिँदा निजको साथबाट लागुऔषध Tramadol २२ क्याप्सुल तथा Dicyclomine २२ ट्याब्लेट फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


