सांगुरीगढी स्थित खुँडीटार सिचाइ कुलो निर्माण सम्पन्न, किसानहरू उत्साहित
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.–८ स्थित खुँडिमा रहेको खुँडीटार सिचाइ जल उपभोक्ता संस्थाको सिचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ।
कोशी प्रदेश सरकार तथा माननीय पूर्व अर्थराज्यमन्त्री निरन राईको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित २० लाख रुपैयाँको बजेटबाट कुल ५९४ मिटर लम्बाइको पाइपलाइन निर्माण सम्पन्न गरिएको हो।
यस सिचाइ आयोजनाले स्थानीय कृषकहरूलाई खेतीपातीका लागि आवश्यक पानीको व्यवस्था गर्दै उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ। अधुरो बाँकी कार्य पनि पूर्ण गर्नका लागि निरन्तर पहल भइरहेको वडा नं. ८ का अध्यक्ष हृदयनारायण प्रसाद राईले जानकारी दिनुभयो।
“माननीय पूर्व अर्थराज्यमन्त्रीको सक्रिय प्रयास र प्रदेश सरकारको सहयोगले यो आयोजना सम्भव भएको हो। बाँकी काम समेत छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ,” अध्यक्ष राईले बताउनुभयो।
यस आयोजनाले खुँडी क्षेत्रका किसानहरूलाई सिंचाइको स्थायी समाधान प्रदान गर्ने विश्वास गरिएको छ, जसबाट कृषि उपजमा उल्लेखनीय वृद्धि हुने स्थानीयवासीहरूको अपेक्षा छ।





