धनकुटामा श्रेष्ठ,तामाङ र राय असार महिनाको उत्कृष्ट प्रहरी घोषित
धनकुटा,८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक हवल्दार रमेश श्रेष्ठ ,प्रहरी जवान जिवन कुमार राय र प्रहरी जवान चन्द्र बहादुर तामाङलाई आसार महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत तीनै प्रहरीहरुद्वारा विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार रहि कार्य सम्पादन गर्ने क्रममा गत असार २८ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला धनकुटा चौबिसे गाँउपालिका वडा नं.२ स्थित धपडतालमा जि.धनकुटा चौबिसे गाँउपालिका वडा नं.१ फेदापजुङ बस्ने जित बहादुर आले मगरको छोरा वर्ष १७ को अभिषेक आले मगर पौडी खेल्ने क्रममा डुबेको भनि प्रहरी चौकी मुढेवास धनकुटामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेबास धनकुटाबाट प्र.स.नि. गोपाल राईको कमाण्डमा र थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट प्र.नि. प्रमोद खड्काको कमाण्डमा प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी सहायक हवल्दार रमेश श्रेष्ठ, प्रहरी जवान जिवन कुमार राय र प्रहरी जवान चन्द्र बहादुर तामाङले उक्त धपडतालमा पौडी खेली खोजतलास गर्ने क्रममा डुबेर बेपत्ता भएका अभिषेक आले मगरको मृत लास फेला पारी आम नागरिकहरु बिचमा प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय एवं उत्कृष्ट कार्य गरेको हुँदा निजहरुले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका नि. कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


