झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट दिदीबहिनी गम्भीर घाइते
झापा । झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।
दमक–१ बरगाछीकी ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राई आज बिहान जंगली हात्तीको आक्रमणमा परी घाइते भएका छन्। दुवैको हाल दमक अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ४:१५ बजे मर्निङ वाकका क्रममा भित्री सडकखण्ड हुँदै हिँडिरहेका बेला उनीहरूलाई जंगली हात्तीले एक्कासी आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट सुनिता राईको टाउको, दाहिने आँखीभौँ, दुबै खुट्टा, बायाँ हात तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
त्यस्तै, कविता राईको बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको छ, र उनी सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छिन्।
घटनापछि जंगली हात्ती जंगलतर्फ फर्किएको प्रहरी स्रोतले जानकारी दिएको छ।


