धनकुटामा गाई जात्राको रौनक
धनकुटा, २५ साउन । धनकुटामा समेत आज गाई जात्रा पर्व मनाईएको छ । बिशेष गरी नेवारी समुदाय बसोबार गर्ने धनकुटा सदरमुकाम सिंधुवा, जीतपुर लगायत जिल्लाका अन्य स्थानमा यो पर्व मनाइएको हो ।
विभिन्न स्थान बाट निकालिएको गाइजात्रा धनकुटा नगरपालिका ७ शिरवानीमा भेला भई जात्रा लाई नगरको परिक्रमा गराइएको थियो । भाद्र कृष्ण प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ ।
एक बर्ष भित्र दिवङ्गगत भएका आफन्तको संझनामा आजका दिन गाई वा मानिस लाई गाईका रुपमा श्रृंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ । यसरी नगरपरिक्रमा गर्नाले बर्ष भरी मृत्यू भएका व्यातिmहरु गाईको पुच्छार समाइ बैतरणी नदि पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आआफ्नो घरका मृतक व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएको आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य रहेको छ ।





