सिरहा सीमामा प्रहरी–तस्कर गठजोडः भन्सार छलीको धन्दाले राजश्व घट्यो

मुकेश कुमार यादव / सिरहा । मधेस प्रदेशको सिरहा स्थित सीमा नाका पछिल्लो समय तस्करको उर्वर भूमि बनेको छ । यहाँको विभिन्न नाकाबाट  मरिच, मदिरा, गाँजा, लागूऔषध, ग्यास लाइटर, चिनी, चाइनिज स्याउसहितका सामग्रीको तस्करी फस्टाएको छ । पारिबाट चिनी, दाल, चामल, आगूऔषध, मोटरपाट्र्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ । वारिबाट गाँजा, ग्यास लाइटर, स्याउ, मरिचलगायतको तस्करी मौलाएको छ ।

 

करिव ४५ किलोमिटर खुल्ला सिमानाका रहेको सिरहामा सीमावर्ती माडर, बरियारपट्टी, ठाढी नाकाबाट मदिरा र लागू पदार्थ गाजा तस्करी व्यापक हुन्छ । यो सहितको सीमा नाकाबाट पछिल्लो समय स्याउ तथा मटर, मरीच र मदिरा पनि तस्करी भइरहेको छ । सिरहाका यी नाका तस्करीको सुरक्षित नाका मानिन्छ ।

 

सिरहाको माडर, ठाढी, झाझपट्टी, गरग्म्मा, बरियारपट्टी र चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ । माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करीका लागि चर्चित छन् । यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् ।

 

अचम्म त के छ भन्ने सिमानाकामा इन्चार्ज जान पहिलेनै प्रहरी प्रमुखहरुलाइ महिनवारी कति दिने भनी तोकेर मात्र सिमानाकामा खटाइने गरेको प्रहरिअधिकारीहरु नै बताउँछन् । 

सिमानाकामा इन्चार्ज भएर जाने प्रहरी अधिकारीहरुलाइ रकम कबुल नगरे कर्यालय प्रमुखले इन्चार्ज नहाल्ने उनिहरुको भनाइ छ। 

 

बरियारपट्टी नाकामा भेटिएका नाम परिवर्तित नाम सुजित कुमार यादव भन्छन् ;  सुरक्षाकर्मीको उपस्थिति भएकै स्थानबाट हुने तस्करी नौलो होइन् । उनले नागरिकसँग तस्करीको अनुभव यसरी साझा गरे, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्छन् । 

 

सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको सिरहा नामी जिल्ला हो । नाता सम्बन्धका कारण वारिपारि बाक्लै आउजाउ गर्ने उनी भन्छन्, ‘भारतीय सहर जयनगर, लदनीया, लौकाहालगायतका सहरबाट ठुल्ठुला पोका लोड गरेको मोटरसाइकल सहजै वारि छिर्छन् । 

 

सीमाको दृश्यले सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ ।’

यहाँका नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ । यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, मरिचलायतका सामान पारि पु¥याइन्छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन् ।

 

सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् ।

 

सीमावर्ती क्षेत्रका स्थानीयको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन । पछिल्लो समय सप्तरी नाकामा मदिरा तस्करीको सूचना पाएर पुगेका प्रहरीसँग कमलपुर नाकामा झडप हुँदा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएपछि सप्तरीका नाकाबाट तस्करहरु पनि उछिटिएर सिरहातर्फ मोडिएको सीमावर्ती ठाढीका एक स्थानीयले बताए ।

 

सिरहाको माडर स्थित खिरौना जाने बाटोमा दक्षिणपट्टी पक्की घर छ । त्यो घरमा रातभरी भारतबाट तस्करी गरी ल्याएको मालसामान भण्डारन हुन्छ । र, दिनभर मोटरसाइकलमा राखेर खिरौनाको बाटो हुँदै सिरहा, भलुवाही, लाहन, गोलबजार र मिर्चैयालगायतका बजारमा पुर्याउने गरिएको स्थानीय बताउँछन् ।

 

माडर भन्सारमा प्लान्ट र एनिमल क्वारेन्टिन छैन् । यस नाकाबाट आलु र प्याजको ब्यापक तस्करी हुन्छ । भारतीय नम्बरको मोटरसाइकलमा तीन देखि चार बोरा लोड गरेर दिनभर सिरहा देखि नयाँ चोहर्वा बजारसम्म पुर्याइने गरिएको दृश्य यहाँका आमजनका लागि आम भैसकेको छ । 

 

बरियारपट्टी र ठाढी नाकामा पनि क्वारेन्टिन छैन् । तस्करहरु भरियामार्फत सेटिङमा वारिसम्म ल्याएर बस, टेम्पो, ई–रिक्सा र मोटरसाइकलमा आलु प्याज लहान, जिरोमाइल, गोलबजारसम्म पुर्याउने गरेको दृश्य यस भेगका जनताका लागि समान्य भैसकेको छ ।

 

बरियारपट्टि चोकको चिया पसलमा भेटिएका बिनोद यादवले भने ‘जहाँ सुरक्षाकर्मी छ त्यहीँबाट भन्सार छली(तस्करी)का मालसामान निर्वाध जानुले मिलेमतो प्रष्ट हुन्छ । सुरक्षा अधिकारीहरु आफु प्रत्यक्ष यो सेटिङमा देखिदैन । आफ्ना घुमुवा(सादा पोशाकका सुरक्षाकर्मी) मार्फत तस्करहरुसँग ‘लाइन’ मिलाउँछन् । र, लाइन वापतको रकम घुमुवा मार्फत बुझ्छन् ।

 

तस्करहरुसँग सुरक्षा अधिकारीहरु प्रत्यक्ष संलग्न नदेखिएपछि उनीहरुले परिचालन गरेका घुमुवाहरु तस्करहरुसँग  प्रत्यक्ष जोडिएका हुन्छन् । सुरक्षा अधिकारीको धाप बेगर सीमाबाट सिन्को पनि वारपार हुन नसक्ने उनको बुझाइ छ ।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ । लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन् ।

 

सिरहामा सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धान कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन् ।

 

सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन् । घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ ।

 

वर्षौँदेखि घुमुवाको जिम्मेवारीमा रहँदा तस्कर जति सबैसँग उनीहरुको घनिष्ठता र हिमचिम रहेको सीमा क्षेत्रवासी बताउँछन् ।

 

सिरहाका सशस्त्र र नेपाल प्रहरी प्रमुखहरुले मिलेमतोमा तस्करीलाई अस्वीकार गर्छन् । भन्छन्,‘खुल्ला सीमानाको लाभ उठाएर लुकिचोरी मालसामान वारपार भएको फेला परे बरामद गर्ने गरिएको छ ।’ हामीले थाहा पाएको ठाउँमा हामीले पनि गरेका छौं । ‘भन्सार छली गरी ल्याएको सामान भेटाए जति ल्याएर भन्सारमा बुझाएका छौं । 

 

तर, मलखाद्यमा प्रतिबोरा ५० रुपैयाँ असुल्छन् घुमुवा प्रहरी ।

बरियारपट्टी नाका क्षेत्रबाट साइकलमा दुई बोरा मलखाद्य लिएर आउनेहरुसंग घुमुवा(सादा पोशाकका सुरक्षाकर्मी)ले प्रति बोरा ५० रुपैयाँसम्म असुल्ने गरेका छन् ।

 

साइकलमा दुई बोरा मलखाद्य लिएर आइरहेका एक साइकलबालाले नागरिकसँग भने,‘प्रति बोरा ५० रुपैयाँ माग्दै थियो । हारगुहार गर्दा प्रति बोरा २५ रुपैयाँ लिएर छाड्यो ।’ 

अर्का साइकलबालाले बरियारपट्टी भन्सारभन्दा पूर्वको बाटोमा घुमुवालाई प्रति बोरा ५० रुपैयाँ बुझाएर आएको बताए । जति भन्दा पनि नमानेपछि घुमुवाले भनेजती पैसा बुझाएको उनले बताए ।

 

जिल्ला भन्सार कार्यालय माडरका अनुसार चालु आर्थिक वर्ष ०८२/०८३ को साउन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्र राजश्व संकल भएको छ । साउन महिनाको राजश्व संकलन लक्ष्य १ करोड ४३ लाख ६० हजार थियो । जसमा ९० लाख ७६ हजार मात्र राजश्व संकल भएको तथ्यांक छ । माडर भन्सार नाकाको यो राजश्व रकममा बरियारपट्टी भन्सारको असुली राजश्व समेत समावेश गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।