प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको पत्रकार महासङ्घले गर्यो विरोध
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको प्रावधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरेको कदमप्रति नेपाल पत्रकार महासङ्घले तीव्र विरोध जनाएको छ । महासङ्घले राष्ट्रपति पौडेलको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र जनमतको अपमानको संज्ञा दिँदै कडा निन्दा गरेको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिबाट संविधानको मर्म विपरीत भएको यो कदमले लोकतन्त्र र नागरिक सर्वोच्चतामाथि गम्भीर आघात पुगेको छ । यो अनिष्टको सङ्केत हो ।”
महासङ्घले जेनजी पुस्ताले उठाएका भ्रष्टाचार र बेथितिविरुद्धका मागहरूलाई संविधानको दायराभित्र सम्बोधन गरी मुलुकलाई उन्नत लोकतान्त्रिक बाटोमा डोर्याउने अवसर प्राप्त भएको अवस्थामा यस्तो कदम चालिएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
“मध्यरातमा गरिएको प्रतिनिधि सभा विघटनको सिफारिस र त्यसलाई सदर गर्नुले जनताको मत र संवैधानिक मूल्य–मान्यतामाथि ठाडो प्रहार भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलको कदम सर्वोच्च अदालतका विगतका नजिर र सिद्धान्त विपरीत रहेको ठहर गर्दै महासङ्घले यसलाई गणतन्त्र, सङ्घीयता र समावेशीकरणजस्ता संवैधानिक उपलब्धिहरूमा खतरा उत्पन्न गर्ने कार्यका रूपमा लिएको छ । “संविधानमाथिको यो प्रहारले लोकतन्त्र कमजोर हुने खतरा छ । हामी यस्तो कदमको घोर भर्त्सना गर्छौँ,” महासङ्घले भनेको छ ।
अन्त्यमा, महासङ्घले संविधान र यसले सुनिश्चित गरेका उपलब्धिहरूको रक्षाका लागि सबै पक्षलाई एकजुट भएर दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेको छ । “संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यको संरक्षण हाम्रो साझा दायित्व हो,” विज्ञप्तिमा जोड दिइएको छ ।



