सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजकको खबरदारी,राजनीतिक नियुक्ति खारेज गर्न जोड

विराटनगर, २२ असोज । भ्रष्टाचार र जवाफहीनता विरुद्ध गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’को नेतृत्व गरेका युवा अगुवाहरूले विद्रोहको जगमा गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई सर्तसहित समर्थन जनाएका छन् ।

सुदन गुरुङ नेतृत्वको उक्त समूहका सातै प्रदेशका संयोजकहरूले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सरकारले गर्ने सकारात्मक कार्यहरूलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गरिरहने स्पष्ट पारेका छन् ।

जेनजी विद्रोहले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको निर्माण गरेको र सोही जगमा सम्माननीय सुशिला कार्की नेतृत्वको सरकार गठन भएको वक्तव्यमा उल्लेख छ । उनीहरूले भनेका छन्, ‘कार्की नेतृत्वको सरकारले गर्ने सकारात्मक कार्यहरूलाई हाम्रो समर्थन रहन्छ । सरकारले विद्रोहको म्याण्डेड बाहिर कदम चाल्ने छैन भन्नेमा विश्वस्त रहँदै निरन्तर खबरदारी गरिरहने छौं ।’

विद्रोहका क्रममा शाहदत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको वक्तव्यमा लोकतन्त्रको नाममा मौलाएको ‘दलीय लुटतन्त्र’ विरुद्ध जेनजी विद्रोह भएको प्रष्ट पारिएको छ ।

जेनजी अगुवाहरूले विद्रोहका क्रममा राज्यले गरेको दमन, बर्बरतापूर्ण हत्या र ज्यादतीको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न जोडदार माग गरेका छन् । ‘हामी जेनजी विद्रोहमा भएको राज्यदमन, बर्बरतापूर्ण हत्या र ज्यादतीको उच्चस्तरीय जाँचबुझ आयोगमार्फत् निष्पक्ष छानबिन चाहन्छौं,’ वक्तव्यमा भनिएको छ, ‘छानबिन प्रतिवेदनको अविलम्ब सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कार्बाही चाहन्छौं ।’

उनीहरूले पुराना दलहरूले स्वार्थअनुरुप राज्यका विभिन्न निकायमा गरेका राजनीतिक नियुक्ति र सिण्डिकेट अन्त्य नभएसम्म देशमा सुशासन र भ्रष्टाचारमुक्त शासन सम्भव नहुने भन्दै यस्ता नियुक्तिहरू खारेज गर्न पनि माग गरेका छन् ।

आफूहरू व्यवस्था र संविधान विरोधी नभएको स्पष्ट पार्दै युवा अगुवाहरूले संविधानमा रहेका त्रुटि र कमजोरीहरूलाई संशोधनमार्फत् सुधार गर्दै मुलुकलाई दीर्घकालीन समाधान दिनु आफ्नो राजनीतिक अभिभारा भएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउँदै देशमा विद्यमान विभेद र असमानतालाई सम्बोधन गर्नु हाम्रो साझा दायित्व हो । यसका लागि हामी कुनै पनि सम्झौता नगरी दृढतापूर्वक लड्नेछौं ।’

वक्तव्यमा जेनजी विद्रोहलाई अपराधीकरण गर्न र बदनाम गर्न विभिन्न स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै देशभरका सम्पूर्ण जेनजीहरूबीच एकता, समन्वय र सहकार्यको आवश्यकता औंल्याइएको छ । उनीहरूले यस्तो एकताविना मुलुकमा स्थिर, पारदर्शी र जवाफदेही शासन व्यवस्था सुनिश्चित हुन नसक्ने तर्क गरेका छन् ।

युवा अगुवाहरूले सबै प्रकारका वैदेशिक हस्तक्षेप, दबाब र प्रभावको विरुद्धमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउनु सम्पूर्ण युवाहरूको राजनीतिक कार्यभार भएको उल्लेख गरेका छन् । उनीहरूले सरकार, नागरिक समाज, मिडिया र सम्पूर्ण सरोकारवालाहरूलाई यस विषयमा सचेत र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

वक्तव्यमा प्रदेश नं. १ का संयोजक उपार्जुन चाम्लिङ र सहसंयोजक लक्ष्मी घिमिरे, मधेस प्रदेशका संयोजक शिव यादव, बागमती प्रदेशकी संयोजक अफ्साना बानु, गण्डकी प्रदेशका संयोजक प्रदिप पाण्डे, लुम्बिनी प्रदेशका संयोजक आदित्य आचार्य, कर्णाली प्रदेशकी संयोजक सुप्रिया शाही र सुदुरपश्चिम प्रदेशका संयोजक खेमराज साउदले हस्ताक्षर गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।