विपिन जोशीसहित चार जनाको शव हमासले इजराइललाई बुझायो, शवको फरेन्सिक परीक्षण हुँदै
काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजराइललाई हस्तान्तरण गरेको हो।
इजराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इजराइली अनलाइन टाइम्स अफ इजराइलले जनाएको छ।
उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इजराइलले समाचारमा लेखेको छ।
बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो। साँझ हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने बताएको थियो। आइडिएफले प्राप्त गरेको चारै जनाको शवको फरेन्सिक परीक्षण हुनेछ।


