यस्तो छ लेटाङको बिपत ब्यबस्थान समिति बैठकका निर्णय
लेटाङ, ३ मंसिर । लेटाङ नगरपालिकामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिसीटिभी प्रणाली सुदृढीकरण, वन्यजन्तु जोखिम न्यूनीकरण, आगलागी तथा हावाहुरीबाट हुने क्षति रोकथाम लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले हात्ती आक्रमण र बाँदरको बालिनाली क्षतिबारे जनचेतना अभिवृद्धि गर्ने, सामुदायिक वनसँग सहकार्यमा जंगलभित्र आहाराजन्य बोटबिरुवा रोप्ने, आगलागी नियन्त्रण उपकरण तथा दमकल क्षमतामा सुधार गर्ने निर्णय गरेको छ। लेटाङ बजार क्षेत्रका अव्यवस्थित पोल–तार व्यवस्थापनका लागि विद्युत् प्राधिकरणलाई समन्वय गर्न आग्रह गरिएको छ।
चिसो मौसममा हुने सितलहर जोखिम कम गर्न सामुदायिक वनको सहकार्यमा सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था र जनचेतना कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निष्कर्ष निकालेको छ। यस्तै, मदन भण्डारी राजमार्ग र कालेबुदुली सडकका आयोजनाहरू सुव्यवस्थित गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। लागुपदार्थ दुव्यसन विरुद्ध विशेष कार्यक्रम संचालन गर्न समेत निर्णय भएको छ।
नगरप्रमुख भुपेन्द्र कुमार लावतीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय, सामुदायिक वन, राजनीतिक दल तथा सञ्चारकर्मीहरूको सहभागिता थियो। बैठकमा सिसीटिभी क्यामेरा मर्मत–सम्भार, स्तरोन्नति तथा निरन्तर सञ्चालनलाई अत्यावश्यक मानिएको छ।


