एमाले कोशीले गर्यो द्वारिकलाल चौधरी सहित ५ नेतालाई कारवाही
विराटनगर । नेकपा एमाले कोशी प्रदेशले विभिन्न जिम्मेवारीमा रहेका ५ नेताहरुलाई कारवाही गरेको छ ।
कोशी प्रदेश कमिटीको विराटनगर सम्पन्न नवौं पूर्ण बैठकले प्रदेश कमिटी सदस्य द्वारीकलाल चौधरी (सुनसरी)ले पार्टी नीति र नेतृत्व प्रति अनास्था फैलाउने अराजक खालका गतिबिधि सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रचारबाजी गर्ने गरेको र यसो नगर्न सम्झाउदा समेत नटेर्ने गरेको हुँदा कमिटीबाट मुक्त गर्ने निर्णय गरेको हो ।
चौधरीको पार्टी सदस्यता ६ महिना निलम्बन गर्ने, त्यसैगरि बद्रीविशाल पोखरेल (सुनसरी) र काशीनाथ दंगाल (सुनसरी)लाई सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा पार्टीहित विपरित गतिविधि गरेकाले स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।
प्रदेश सल्लाहकार सदस्य मनोरथ तिवारी (झापा) ले निरन्तर पार्टी विरोधि गतिविधिमा संलग्न रहेको र ध्रुब सिवाकोटी(झापा) नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर गरी जेलसजाय भएकोले दुबैजनालाई पदमुक्त गरिएको छ ।
नेकपा एकिकृत समाजबादीबाट नेकपा (एमाले) मा प्रबेश गरेका मणी भण्डारी (झापा), मानसिंह पोखरेल (संखुवासभा) र संघिय समाजवादीबाट एमाले प्रवेश गरेका धर्मराज राई (धनकुटा)लाई कोशी प्रदेश कमिटी सदस्यमा मनोनयन गर्ने प्रदेश पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरिएको अन्तर कमिटी निर्देशनमा उल्लेख छ ।
प्रदेश कमिटी बैठकमा १४ वटै जिल्लाहरुले बैठक, भेला, सदस्यता प्रमाणित, महाधिवेशन प्रतिनिधि संख्या साथै कात्तिक २२, २५ र २९ गतेको कार्यक्रमको समिक्षामा केन्द्रीत रहेर जिल्ला कमिटीका अध्यक्षले जिल्लागत रिपोर्टिङ गरेका थिए ।


