झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका–६ र गौरीगंज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
आज दिउँसो करिब १२स्२० बजे घर नजिकै खोलामा माछा मार्ने क्रममा गौरादह–६, आरतिनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ताजपुरियाले घरको २२० भोल्ट लाइनको तार जोडेर माछा मार्ने प्रयास गर्दा तार सर्ट भई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। करेन्ट लागेर उनी पानीमै ढलेको अवस्थामा उनकी श्रीमती फूलकुमारी ताजपुरियाले देखेकी थिइन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रहरीले यस्ता जोखिमपूर्ण तरिकाले माछा नमार्न आग्रह गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।


