दुहबीको जुट मिलमा लागेको भीषण आगलागी नियन्त्रणमा कठिनाइ
सुनसरी । दुहबी नगरपालिका–८ सोनापुरस्थित राजकुमार गोल्छाद्वारा सञ्चालित जुट मिलमा आज दिउँसो करिब ४:३५ बजे भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार आगो सुरु भएको स्थान र कारण हालसम्म पुष्टि हुन सकेको छैन।
खड्काका अनुसार जुट मिलभित्र धागो तथा सजिलै सल्किने सामग्री धेरै मात्रामा रहेको भएकाले आगो भित्री भागबाट नै तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा समस्या थपिएको छ।
आगो नियन्त्रणका लागि सुनसरी प्रहरीले करिब १५–२० जना सुरक्षाकर्मी परिचालन गरेको छ। साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरान नगरपालिका/महानगरबाट ८ वटा दमकल घटनास्थलमा खटाइएका छन्।
दमकल र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य निरन्तर जारी छ।
आगलागीबाट भएको क्षतिको अनुमान हाल गर्न नसकिने प्रहरीको भनाइ छ।
विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि पूर्ण नियन्त्रणपछि मात्र विस्तृत विवरण निकालिने प्रहरीले जनाएको छ।


