मोरङ कारागारका अर्का एक थुनुवाको पनि मृत्यु
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङका अर्का थुनुवाको पनि शनिबार मृत्यु भएको छ ।
लागुऔषध मुद्दाका थुनुवा मोरङको उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको मृत्यु भएको कारागार प्रशासक गौरव ढुंगेलले बताए । उनका अनुसार शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि दर्जीलाई मंसिर ७ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो
चिन्ताजनक अवस्थाका उनलाई अस्पताल भर्ना गरेकै दिनदेखि आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा शनिबार दिउँसो १ः४५ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए ।दर्जी लागुऔषध मुद्दाका थुनुवा हुन् । अदालतले गत साउन ३० गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो ।
उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको छिनोफानो नहुँदै दर्जीको भने मृत्यु भएको हो । शव आफन्तले बुझेर लगिसकेको कारागार प्रशासनले जनाएको छ ।दर्जीसँगै वैशाखयता मोरङ कारागारमा रहेका कैदीबन्दी र थुनुवा गरेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो समय जिल्ला कारागार मोरङमा राखिएका कैदीबन्दी तथा थुनुवाले धमाधम ज्यान गुमाइरहेका छन् ।
मोरङ कारागारका २ जना कैदीको बिहीबार मात्रै मृत्यु भएको थियो । जंगली हात्ती मारेको आरोपमा ५ वर्ष कैद सजाय सुनाइएका मोरङको बेलबारी नगरपालिका–३ घर भएका ४७ वर्षीय तेजबहादुर राई र कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको बिहीबार मृत्यु भएको हो ।
पछिल्लो समय कारागारका कैदीबन्दी तथा थुनुवामा शरीर सुन्निने, सास फेर्न गाह्रो हुुने र छाती दुख्ने समस्या बढ्दै गएको छ । स्वास्थ्यमा समस्या देखिनसाथ उनीहरुलाई अस्पताल लैजाने गरिएको ढुंगेलले बताए । तर, उपचारका क्रममा कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने गरेको छ ।


