धनकुटाको पाख्रीबासमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरकोठामा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुङ खुला तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–२ का ३७ वर्षीय टेकनाथ अधिकारी, ३६ वर्षीय नवराज मगर, २७ वर्षीय डिपिन गौतम, ४० वर्षीय ललित राना, ४८ वर्षीय चन्द्रबहादुर राना, २९ वर्षीय निरज श्रेष्ठ, २८ वर्षीय दीपक अधिकारी, ५० वर्षीय धनबहादुर मगर र ३२ वर्षीय तोर्ण मगर रहेका छन्।
त्यसैगरी पाख्रीबास नगरपालिका–४ का २४ वर्षीय भीम बस्नेत र चितवनको भरतपुर महानगरपालिका–७ का ३० वर्षीय अर्जुन सुयाल पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका ११ जनालाई जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय धनकुटाबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


