वैकल्पिक सत्ता केन्द्रका रूपमा अगाडि बढिरहेका रास्वपा र विवेकशील साझा पार्टी आज औपचारिक रूपमा एक हुने
काठमाडौ । वैकल्पिक सत्ता केन्द्रका रूपमा अगाडि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आज औपचारिक रूपमा एक हुने भएका छन्। दुवै दलबीचको एकता घोषणा दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुँदैछ।
१३ वर्षअघि विवेकशील अभियानबाट जन्मिएको विवेकशील साझा र ४० महिनाअघि गठन भएको रास्वपा लोकतान्त्रिक चरित्रको वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित एउटै प्लेटफर्ममा जुटेका हुन्।
पार्टीको नाम, चिन्ह र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले नि:शर्त सहमति जनाएको छ। रवि लामिछाने जेलमा रहेकाले हाल डीपी अर्यालले रास्वपाको नेतृत्व सम्हालेका छन् भने विवेकशील साझा अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शनाले एकतालाई अघि बढाएका छन्।
स्वर्णिम वाग्ले र दिवंगत उज्ज्वल थापा बीचको पुरानो निकटता, पाँच चरणको संवाद र वैकल्पिक राजनीतिप्रतिको समान दृष्टिले दुवै दल एकतापर्यन्त पुगेका हुन्। विवेकशील साझाले आजको समारोहमा आफ्नो विपत कोषमा रहेको ३३ लाख रुपैयाँ पनि रास्वपालाई हस्तान्तरण गर्नेछ।
दुवै पक्षले यो एकतालाई वैकल्पिक राजनीतिक शक्तिको ध्रुवीकरणको नयाँ अध्याय भएको बताएका छन्।


