एसईईमा उमेर नपुग्ने विद्यार्थीको जन्मदर्ता सच्याउनका लागि सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
बोर्डले शुक्रबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ। कतिपय विद्यार्थीहरूको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकोले उनीहरू परीक्षाबाट वञ्चित हुने अवस्था आएको थियो।
यस सम्बन्धमा अभिभावक, विद्यालय र स्थानीय तहबाट बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधान खोजिएको हो।



