पाख्रिबास नगरले सामान्य प्रशासन मन्त्रालयलाई भन्यो : सम्भव भए दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि आफूहरूलाई फरक नपर्ने
धनकुटा,२२ मंसिर । धनकुटाको पाख्रिबास नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयलाई व्यंग्यात्मक पत्र पठाएको छ ।
नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित पत्रमा नगरमा प्रमुख प्रशासकिय अधिकृत सरुवा भइरहने प्रक्रियाले कामकाज प्रभावित भएको भन्दै नपाले सामान्य प्रशासन मन्त्रालयलाई व्यंग्यात्मक पत्र लेखेको हो ।
पत्रमा नगरपालिकाले धान रोपाइँदेखि दूध उत्पादनसम्मका सबै स्थानीय काम सरुवा भए-नभए पनि सहजै चलिरहने भएकाले मन्त्रालयले चाहिँ जसरी भए पनि हरेक महिना, सम्भव भए दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि आफूहरूलाई फरक नपर्ने उल्लेख गरेको छ।
पत्रमा लेखिएको छ –
विषयः जानकारी सम्बन्धमा
श्री संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरबार, काठमाण्डौं
(स्थानीय तह कर्मचारी प्रशासन शाखा)
कोशी प्रदेश, नेपाल
मितिः २०८२/०८/२२
उपर्युक्त सम्बन्धमा तहाँ मन्त्रालयको प.सं. २०८२/०८३, च.नं. १०१७ र च.नं. १०४७, मिति २०८२/०८/१७ को पत्र बोधार्थको रुपमा प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्बन्धमा यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्रिवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना / महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
बोधार्थः
१. श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, २. श्री पाख्रीबास नगर कार्यपालिकाको कार्यालय, धनकुटा ।



