धनकुटाको भिर गाउँमा देउसी भैलोबाट सङ्कलित रकमबाट संस्थालाई सामान र धार्मिक स्थलमा सिँढी
धनकुटा । देउसी भैलोबाट सङ्कलित रकमबाट धनकुटाको भिर गाउँमा सामाजिक कार्यको लागि आवश्यक पर्ने सामाग्री खरिद र धार्मिक स्थलमा सिँढी निर्माण तथा भुईँ ढलान गरिएको छ ।
धनकुटा नगरपालिका वडा नम्बर दुई भिर गाउँ स्थित मधुगंगा टोलबिकास संस्थाले तिहारमा देउसी भैलो खेलेको रकम करिब ८५ हजार रुपैयाँ बराबरको सामाजिक कार्यको लागि आवश्यक पर्ने सामाग्री खरिद गरिएको हो ।

गाउँमा हुने सामाजिक कार्यमा आवश्यक पर्ने टेबल कुर्सी, कराई, थाल गिलास तपेस लगायतका सामाग्री खरिद गरिएको संस्थाका सदस्य हर्क राईले जानकारी दिनुभयो । गाउँमा हुने कार्यक्रममा यी सामाग्री अभाव हुँदा समस्या पर्ने गरेकाले देउसी भैलोको रकम वाट खरिद गरिएको उहाँको भनाई छ ।
त्यस्तै सोही संस्थाले देउसी खेलेको रकम वाट सोही स्थानमा रहेको मधुगंगा महादेवको मन्दिरमा सिँढी निर्माण गरेको हो । मन्दिर परिसरमा भुईँ ढलान समेत गरेको संस्थाका अध्यक्ष चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।
देउसी भैलो खेलको रकम १५ हजार तथा स्थानीयले श्रमदान र अन्य ब्याक्तिवाट सङ्कलन गरिएको करिब ३० हजार गरी कुल ४५ हजारमा सिँढी निर्माण तथा भुईँ ढलान गरिएको हो ।


