धनकुटाको साँगुरीगढीमा घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण
हिराराज राई ,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र १० मा विभिन्न रोगका कारण अपाङ्गता भएका नागरिकहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।

गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले घरदैलो कार्यक्रममार्फत परिचयपत्र वितरण गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई तथा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले अपाङ्गता भएका नागरिकहरूको हकहित संरक्षण तथा सामाजिक सुरक्षामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आवश्यक सेवाहरू नागरिकको घरमै पु¥याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्नुभयो।
यस पहलबाट अपाङ्गता भएका नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा तथा अन्य सरकारी सुविधाहरू प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।


