धनकुटाको पाख्रिबासमा करेन्ट लागेर मृत्यु भएका बालकको परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था सहित दोषीमाथि कारबाहीको माग
धनकुटा,३ पुष । द काउन्सिल अफ जेनजी धनकुटा र सचेत नागरिक समूहको तर्फबाट प्राधिकरणको गम्भीर लापरबाहीले भएको बालकको मृत्युप्रति क्षतिपूर्ति र सुरक्षा सुधार सहितका माग राख्दै नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्रका प्रमुख बिजुली प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
हिजो धनकुटाको पाख्रिबास नगरपालिका ५ चौतारा स्थित जंगलमा दाउरा काट्न जंगल गएका १४ बर्षिय बादल तामाङको विद्युतको पोलको सपोर्ट तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएपछि ज्यान गुमाउने बालकको परिवारलाई प्राधिकरणले तत्काल उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न र मर्मत सम्भारमा लापरबाही गर्ने सम्बन्धित कर्मचारी र प्राविधिक टोलीमाथि छानबिन गरी कडा कारबाही सहितको माग राख्दै उक्त पत्र बुझाइएको हो ।
यस्तो छ पत्रको ब्यहोरा –
कार्यालय प्रमुख
नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्र
धनकुटा
विषयः प्राधिकरणको गम्भीर लापरबाहीले भएको बालकको मृत्युप्रति क्षतिपूर्ति र सुरक्षा सुधार
सम्बन्धमा ।
महोदय,
आज धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नं. ५ मा घाँस काट्ने क्रममा १४ वर्षीय निर्दोष बालकको करेन्ट लागेर ज्यान गएको घटनाले हामी सम्पूर्ण धनकुटाबासीलाई स्तब्ध र आक्रोशित बनाएको छ। यो केवल एक दुर्घटना नभई नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाही र जीर्ण पूर्वाधारको परिणाम हो।
वर्षौंदेखि पुराना काठे पोल फेर्न र लत्रिएका नाङ्गा तारहरूको व्यवस्थापन गर्न आग्रह गर्दा पनि प्राधिकरणले देखाएको उदासीनताकै कारण आज एक परिवारले आफ्नो सन्तान गुमाउनु परेको छ।, यस्तो ज्यानमारा प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौं।
यस दुःखद सन्दर्भमा हामी निम्न मागहरू अविलम्ब पुरा गर्न अन्तिम चेतावनी दिन्छौं:
१. मृतक परिवारलाई क्षतिपूर्तिः ज्यान गुमाउने बालकको परिवारलाई प्राधिकरणले तत्काल उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गरोस्।
२. दोषीमाथि कारबाही: मर्मत सम्भारमा लापरबाही गर्ने सम्बन्धित कर्मचारी र प्राविधिक टोलीमाथि छानबिन गरी कडा कारबाही गरियोस् ।
३. तत्काल पोल तथा तार मर्मतः पाख्रिबास लगायत धनकुटाका सम्पूर्ण क्षेत्रमा रहेका पोलहरू र जोखिमपूर्ण अवस्थामा रहेका नाङ्गा तारहरू आजकै मितिबाट युद्धस्तरमा मर्मत तथा पुराना काठे प्रतिस्थापन गरियोस् ।
चेतावनी:
हाम्रा यी मागहरूलाई बेवास्ता गरिएमा वा आलटाल गरिएमा हामी यस्ता ‘ज्यानमारा’ हरूलाई त्यसै छाड्ने छैनौं। प्राधिकरणका विरुद्ध धनकुटाभर सशक्त आन्दोलन छेडिनेछ र त्यसबाट उत्पन्न हुने कुनै पनि अप्रिय स्थितिको पूर्ण जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ ।
मृतक बालकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।




