नेकपाको धनकुटामा हुने एकता सन्देशसभा भीम रावल नआउने भएपछि स्थगित
ईश्वर थापा/धनकुटा, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १३ गते धनकुटा सदरमुकाममा गर्ने भनिएको एकता सन्देश सभा स्थगित भएको छ।
आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट सहितका तयारीमा लाग्नुपर्ने भएपछि पार्टीका नेता भीम रावलको प्रमुख आतिथ्यतामा धनकुटाको सामुदायिक भवनमा तय गरिएको एकता सन्देश सभा अन्तिम समयमा आएर स्थगित गरिएको हो।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने देखि निर्वाचनकै तयारीको काममा लाग्नुपर्ने भएपछि भीम रावल धनकुटाको कार्यक्रममा नआउने हुनु भएको नेपाली कम्युनिष्ट पार्टी धनकुटाकी नेता कुशुम कुमारी श्रेष्ठले जानकारी दिनुभयो।
लगभग सबै तयारी सम्पन्न भएपनि १३ गतेको कार्यक्रम स्थगित गर्नुपरेको श्रेष्ठले बताउनु भयो। अहिले स्थगित भएको कार्यक्रम अर्को सुचना जारी नभएसम्म स्थगित गरिएको बताइएको छ। धनकुटाको एकता सन्देशसभा केन्द्रीय नेताको समय मिल्नासाथ गरिने बताइएको छ।


