धनकुटाको पाख्रीबास स्थित श्री बाल शिक्षा आधारभूत विद्यालयको ६८औँ वार्षिकोत्सव सम्पन्न
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ९ स्थिति लिसुम्बुमा रहेको श्री बाल शीक्षा धारभूत विद्यालयको ६८औँ वार्षिकोत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर ठाडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फूलमाया मगरले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक सत्र २०८१/०८२ को आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयका जेहेन्दार छात्रछात्राहरूलाई अक्षयकोष दाता मित्रसेन योञ्जन तथा जग्गा दाता एवं अक्षयकोष दाता लोकबहादुर ठाडा परिवारले नगद तथा स्टेशनरी सामग्री प्रदान गरी सम्मान गरिएको थियो। साथै अक्षयकोष दाता र जग्गा दाताहरूलाई विद्यालयको तर्फबाट सम्मानपत्र प्रदान गर्दै अविर लगाई सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रधानाध्यापक झमेलि शन्त तथा विद्यालयका संस्थापकहरूलाई समेत सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष सम्झना आलेले विद्यालयको स्तरउन्नति तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै अक्षयकोष दाता मित्रसेन योञ्जनले विद्यालयले उपलब्धिमूलक कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक विकास र हौसला अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो।
कार्यक्रममा त्रिभुवन प्राथमिक विद्यालय चप्लेटीका प्रधानाध्यापक हेमकुमार धमला, समाजसेवी तथा बुद्धिजीवी चन्द्र ठाडा, रामबहादुर ठाडा, राकेश आले, पत्रकार मानवी मोक्तान, सुरजमान घिसिङ, यज्ञ घिसिङ लगायतले विद्यालयको विकास र शैक्षिक स्तरउन्नतिका विषयमा धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, शुभेच्छुक, शुभचिन्तक, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साेहि अवसरमा पुर्व विद्यार्थी समाज सेवि गंगा पुर्वछाने मगरले विद्यार्थीलाई २७ थान न्यानाे टाेपि वितरण गर्नु भएको थियोे । साथै विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रस्तुत गरेका थिए ।










