मोरङको रंगेलीमा स्थित संसारीमाई मन्दिरबाट मूर्ति, गरगहना र नगद चोरी
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा चोरी भएको छ ।
मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ । रातको समयमा अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरेर चोरी गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी भएको पाइएको छ । मन्दिरका मेनेजर पंकज झाले घटनाका बारेमा प्रहरीलाई आइतबार बिहान जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दानपेटिकाको अवस्था निरीक्षण गर्ने र सम्भावित चोरी भएको समय एवं तरिका पहिचान गर्ने काम गरेको छ ।
मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर त्यहाँभित्र रहेको नगद चोरी भएको डीएसपी चुँडालले बताइन् । चोरी भएको नगदको यकिन विवरण भने दानपेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा मात्र खुल्ने प्रहरीको भनाइ छ ।


