निर्वाचन बाहेक अर्काे विकल्प छैन : माधव कुमार नेपाल
धनकुटा,२० पुष । सर्वाेच्च अदालतले विगठित प्रतिनिधि सभा पुनस्र्थापना गर्छ भन्ने भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारका सामु निर्वाचन बाहेक अरु विकल्प नरहेको बताउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी धनकुटाले हिजो आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले अहिलेको राजनीतिक संकट टार्न निर्वाचनको विकल्प नभएकाले अहिलेको सरकारको मुख्य काम निर्वाचन गराउनु भएको बताउनु भयो ।
उहाँले वर्तमान सरकारले फागुन २१ का लागि तोकिएको निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर समयमै सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन गर्ने कुरामा तलमाथि नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
एकता सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा साविकको नेकपा माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, जनवादी गायक तथा नेता चिरन पुन, नेकपाका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, केन्द्रिय सदस्य धर्मराज पोडेल, धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ ‘जुली’ लगायतले सम्बोधन गर्नुभएको थियो ।


