बिर्तामोडमा आगलागी, करिब डेढ लाखको क्षति
झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीमा आगलागीको घटना भएको छ। मिति २०८२।०९।२० गते अपराह्न करिब ५:१५ बजेको समयमा स्थानीय होममनि बस्नेतको घर आँगनमा रहेको टिनको छानो र बाँसको टाटीले बनेको एकतले गोठ–गुवालीमा खोले पकाउने क्रममा अचानक आगो लागेको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी, स्थानीय बासिन्दा तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। करिब २५ मिनेटको प्रयासपछि साँझ ५:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
उक्त आगलागीबाट गोठमा रहेको काठपात, टिनका सामग्री तथा गुवालीभित्र राखिएको ट्याक्टरका पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब रु. १,५०,००० (एक लाख पचास हजार रुपैयाँ) बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय तथा चौपायाको कुनै पनि क्षति नभएको बताइएको छ।


