झापाका दुई युवा साइबर अपराधको आरोपमा पक्राउ
झापा । पछिल्ला केही महिनादेखि नेपालका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका सूचना प्रणाली तथा सर्भरमा अनधिकृत पहुँच गरी वेबसाइट ह्याकिङ र डाटा चुहावट गरिएका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। CMD Nepal, Nepali for Nepal (NFN) लगायतका समूहहरूले यस्ता घटनाको जिम्मेवारी लिँदै सामाजिक सञ्जालमार्फत सामग्री प्रसारण गरिरहेको सन्दर्भमा सुरक्षानिकायले विस्तृत अनुसन्धान थालेको थियो।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग तथा निर्वाचन आयोग, नेपालबाट प्राप्त निवेदनका आधारमा गरिएको विशिष्टीकृत प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा केही व्यक्तिहरूको संलग्नता खुल्न आएको प्रहरीको भनाइ छ। सोही आधारमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापा र सिन्धुपाल्चोकको सहयोगमा गरिएको कारबाहीमा झापा जिल्लाका दुई जना युवालाई फरक–फरक मिति र स्थानबाट नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ का २० वर्षीय सन्तोष चिमरिया रहेका छन्, जसलाई २०८२ साल मंसिर २८ गते सोही स्थानबाट पक्राउ गरिएको हो। त्यस्तै झापा दमक नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय विकास पौडेललाई २०८२ साल पुस १८ गते सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट अनुसन्धानका क्रममा चार थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, एक थान आईफोन, एक थान फिचर फोन, एक थान हार्ड ड्राइभ र एक थान रिपिटर बरामद गरिएको छ। बरामद सामग्रीहरू डिजिटल अपराधसँग सम्बन्धित हुन सक्ने आशंकामा प्राविधिक परीक्षणका लागि प्रयोगमा ल्याइँदैछ।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको र यस घटनासँग जोडिएका अन्य व्यक्ति तथा समूहबारे पनि खोजी भइरहेको प्रहरीको भनाइ छ।


