काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अदालतबाट पाए सफाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।
ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।
महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीलगायतलाई मुद्दा दर्ता गरेको थियो ।
सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।
आयोगका अनुसार सबैभन्दा कम अङ्क १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो ।
अभियोग पत्रमा पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि नोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी गरिएको थियो ।


