झापामा मृत भेटिएको हात्तीको सुँडमा ताजा चोट
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा एक भाले हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्तीको सुँडमा आलो (भर्खरै लागेको) चोट देखिएको छ भने अगाडिको बायाँ खुट्टा र पेटमा पुराना घाउ रहेको पाइएको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षण, सुनसरीबाट पशु चिकित्सक डा. प्रीति गुरुङको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा पुगेर हात्तीको परीक्षण गरेको थियो। टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम सम्पन्न गरेपछि सोही स्थानमा खाल्डो खनेर हात्तीलाई पुरिएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियारी यादवका अनुसार पोस्टमार्टम रिपोर्ट केही दिनपछि आउनेछ। “रिपोर्ट आएपछि मात्रै हात्तीको मृत्युको वास्तविक कारण खुल्नेछ,” उनले बताए।
मृत हात्ती हिजो बिहान बुद्धशान्ति–३ निवासी लालबहादुर रसाइलीको खेतमा फेला परेको हो। चन्द्रगढी क्षेत्रमा घुमफिर गर्ने दारा नभएको उक्त माकुने हात्ती केही समयदेखि बिरामी अवस्थामा रहेको जनाइएको छ। वन कार्यालयको टोलीले केही महिनाअघि सो हात्तीको उपचारसमेत गरेको थियो।
चालु आर्थिक वर्षमा झापा जिल्लामा यसअघि पनि एक हात्ती मृत फेला परिसकेको थियो। यस घटनासँगै यस वर्ष झापामा मृत भेटिएका हात्तीको संख्या दुई पुगेको छ।


