लेटाङमा नेकपाको कार्यकर्ता भेला ,वैचारिक प्रशिक्षण मार्फत संगठन सुदृढीकरणको प्रतिबद्धता
लेटाङ,२३ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लेटाङ नगरकमिटिद्वारा आयोजित कार्यकर्ता भेला तथा वैचारिक प्रशिक्षण कार्यक्रम लेटाङ–९ स्थित आदिवासी जनजाति महासंघको सभाहलमा सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यकर्ताको भूमिकासम्बन्धी क्षमता अभिवृद्धिलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नगरकमिटि संयोजक भुपेश लिम्बूले गर्नुभयो भने सञ्चालन नरेश पथिकले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका पार्टीका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले समसामयिक राजनीतिक परिस्थिती, संगठन विस्तार, सामाजिक न्याय र जनतासँगको सम्बन्ध सुदृढीकरणबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
विशेष अतिथिका रूपमा प्रदेशसभा सांसद तथा पार्टी केन्द्रीय सदस्य बिध्या चाम्लिङको उपस्थिति रह्यो। त्यस्तै केन्द्रीय सदस्यहरू कुसल साम्बा, उपेन्द्र प्रसाद घिमिरे, बिशेन्द्र चेम्जोङलगायत नेताहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात स्वागत मन्तव्यबाट भएको थियो, जहाँ अग्नि प्रसाद पौडेलले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। त्यसपछि कुसल लिम्बू र बिध्या चाम्लिङले पार्टीको संगठनात्मक दिशा, समावेशिता र जनसंगठन विस्तारसम्बन्धी आफ्ना धारणा राख्नुभयो।
कार्यक्रममा वक्ताहरूले यस्ता भेला तथा प्रशिक्षणले कार्यकर्तालाई वैचारिक रूपमा सबल बनाउने र स्थानीय तहमा संगठनलाई अझ सुदृढ बनाउन सहयोगी हुने धारणा व्यक्त गरेका थिए। सहभागी कार्यकर्ताहरूले प्रशिक्षणबाट ऊर्जा, मार्गनिर्देशन र संगठनप्रतिको जिम्मेवारीबोध थप सुदृढ भएको प्रतिक्रिया दिएका छन्।


