अरुण नदीमा पक्की पुल नहुँदा सास्ती
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने यो मुख्य नाका भए पनि स्थायी पुलको अभावमा आवतजावत र व्यापारिक कारोबारमा ठूलो बाधा पुगेको छ।
वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि सतिघाटमा ‘फेरी’ सञ्चालनमा ल्याइएको छ। तर, प्राविधिक समस्या, तीव्र हावाहुरी र वर्षायाममा नदीको बहाव बढ्ने बित्तिकै फेरी सेवा ठप्प हुन्छ। बर्खाका समयमा फेरी पूर्ण रूपमा बन्द हुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा झोलुङ्गे पुलको जोखिमपूर्ण यात्रा गर्न र पिठ्यूँमा सामान बोकेर नदी वारपार गर्न बाध्य छन्।
हिउँदमा बिहान ७ देखि राति १० बजेसम्म फेरी सञ्चालन भए पनि यो दीर्घकालीन समाधान नभएको स्थानीयको गुनासो छ। षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले फेरीले केही राहत दिए पनि पक्की पुलको अभावमा यस क्षेत्रको विकास नै ओझेलमा परेको बताए।
उनले सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित सरकारी निकायमा पटक-पटक डेलिगेसन र निरन्तर पहल गरिरहेको जानकारी दिए।


