धनकुटा एमालेको सिफारिसलाई उल्टायो कोशी प्रदेशले,प्रदेश कमिटीद्वारा थप २ जनाको नाम सिफारिस
धनकुटा । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ ।
पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका बीच पनि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धनकुटाबाट एकल नाम सिफारीस गरेको बताइएको थियो । तर उम्मेदवारका आकांक्षी तथा नेकपा एमालेका निवर्तमान केन्द्रिय सदस्य सकुन्तला बस्नेत र कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकारम चेम्जोङले आपत्ति जनाउनु भएको थियो ।
निवर्तमान केन्द्रिय सदस्य बस्नेतले विज्ञप्ती जारी गर्दै केन्द्रले महिलासहित ३ जनाको नाम सिफारीस गर्न दिएको परिपत्र विपरित आकांक्षीहरु हुँदाहुँदै बहुमतको दम्भ देखाउँदै एकल नाम सिफारीस गरिएको भन्दै आपत्ति जनाउनु भएको थियो भने उपाध्यक्ष चेम्जोङले सामाजिक सञ्जालमा जिल्ला कमिटीले आकांक्षीहरुसँग सल्लाह नै नगरी पठाएको नाम उपर स्वीकार्य नहुने बताउनुभएको थियो ।
विगठित प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका राईले जिल्ला कमिटी मार्फत आफ्नो एकल नाम सिफारिस गराउन सफल हुनुभएको थियो । तर, कोशी प्रदेश कमिटीको सचिवालय बैठकले दुई जना आकाक्षीको नाम थप गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ । प्रदेशले धनकुटाबाट आकांक्षी चेम्जोङ र बस्नेतको नाम थप गरी केन्द्रमा पठाउने निर्णय गरेको हो । -स्रोत :धनकुटा एफ एम


