एकता भंग भएपनि उज्यालो नेपालका करिब २० नेता रास्वपामै रहने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपालका केही केन्द्रीय सदस्य भने रास्वपामै रहने निर्णयमा पुगेका छन्। एकता टुटेपछि दुवै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन् भने पार्टीभित्र नयाँ राजनीतिक समीकरण देखिन थालेको छ।
उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने तयारीमा कुलमान घिसिङ जुटिरहेका बेला पार्टीका केही केन्द्रीय सदस्यहरूले भने अझै पनि रास्वपासँगको एकताको पक्ष नछोड्ने संकेत दिएका छन्। उज्यालो नेपालका एक केन्द्रीय सदस्यले आफूहरू रास्वपामै रहने निर्णयमा पुगेको बताएका छन्। “पार्टी एकता भइसकेको छ भन्ने हाम्रो बुझाइ छ। हामी एकताको पक्षमै छौँ र अब उज्यालो नेपालतर्फ फर्किने छैनौँ,” ती सदस्यले बताएका छन्।
उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण बुझाएको छ। स्रोतका अनुसार तीमध्ये करिब २० जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका छन् र रास्वपामै रहनेबारे आन्तरिक छलफल गरिरहेका छन्। ती सदस्यहरू आगामी दिनमा के गर्ने भन्ने विषयमा रणनीति तय गर्ने तयारीमा रहेको जनाइएको छ।
एकता भंगपछि उज्यालो नेपाल पार्टीभित्र स्पष्ट दुई धार देखिन थालेको छ। एकातर्फ कुलमान घिसिङको नेतृत्वमा पार्टीलाई अगाडि बढाउने तयारी भइरहेको छ भने अर्कोतर्फ केही नेताहरू रास्वपासँगको सहकार्य निरन्तर राख्नुपर्ने अडानमा छन्। यसले उज्यालो नेपाल पार्टीभित्र आन्तरिक मतभेद थप गहिरिने संकेत देखिएको छ।
राजनीतिक घटनाक्रम तीव्र रूपमा बदलिरहेका बेला उज्यालो नेपाल र रास्वपा दुवैका आगामी बैठकले पार्टीको भावी दिशा र सम्भावित विभाजन वा पुनर्संयोजनबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।


