‘१२ दिन बिलखबन्धनमा पारियो’—रास्वपाविरुद्ध कुलमानको विस्फोट
काठमाडौ । उज्यालो नेपाल पार्टी का नवनियुक्त अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकलौटी रूपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले आफूहरू एकताका लागि अन्तिम समयसम्म तयार रहे पनि शनिबार रास्वपाले सहमति भंग भएको जानकारी एकतर्फी रूपमा गराएको बताए।
घिसिङले रास्वपासँग ठूलो बार्गेनिङ गरिएको भन्ने आरोप अस्वीकार गर्दै आफू एकताका क्रममा धेरै त्याग गरेर अघि बढेको दाबी गरे। “म आफैं वरीयतामा धेरै तल बसेर एकतामा गएको हुँ। अन्तिम समयसम्म साधारण सदस्य भएर बस्छु भनेको थिएँ,” उनले भने, “हाम्रा केन्द्रीय समितिका साथीहरूलाई मिलाएर लैजाऔँ भनेका थियौँ। त्यो ठूलो विषय नै थिएन।”
उनका अनुसार उज्यालो नेपालले मुख्य रूपमा समावेशीता, संघीयता र संविधानले तय गरेका आधारभूत विषयमा पूरक सहमति गर्न प्रस्ताव गरेको थियो। तर ती विषयहरूमा सहमति हुन नसकेको र हाम्रा नेताहरूले उठाएका मुद्दाहरूलाई लामो प्रक्रियामा अल्झाइएको उनले आरोप लगाए। समानुपातिक सूचीको विषयमा समेत रास्वपाले अनावश्यक ढिलाइ गरेको घिसिङको भनाइ छ।
“सबै कुरा त्यागेर हामी एकतामा गएका थियौँ,” उनले भने, “तर लामो समयसम्म हामीलाई इंगेज गरेर राख्दा उज्यालो नेपाल पार्टीले ठूलो राजनीतिक क्षति व्यहोर्नुपर्यो। अन्ततः उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभयो। त्यो पनि एकतर्फी रूपमा मलाई जानकारी गराएर।”
घिसिङले पछिल्ला १२ दिन आफूहरूका लागि अत्यन्त पीडादायी रहेको भन्दै रास्वपाले आफूहरूलाई ‘बिलखबन्धन’ मा पारेको आरोप लगाए। रास्वपाले विभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेर उज्यालो नेपालका नेता–कार्यकर्तालाई भित्र्याएको र आफूहरूको त्यागलाई कमजोरीका रूपमा लिएको उनले बताए। “त्यसले मलाई व्यक्तिगत रूपमा निकै मर्माहत बनाएको छ,” उनले भने।
एकता भंग भएपछि उज्यालो नेपाल पार्टी अब स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने घिसिङले घोषणा गरे। “देशभरि ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौँ,” उनले भने, “रातदिन नभनी निर्वाचन अभियान सञ्चालन गर्छौँ।”
घिसिङको आक्रामक अभिव्यक्तिसँगै उज्यालो नेपाल र रास्वपाबीचको विवाद सार्वजनिक रूपमा चर्किएको छ। एकता प्रक्रियामा उत्पन्न असहमति, आरोप–प्रत्यारोप र आगामी चुनावी घोषणाले नेपाली राजनीतिक वृत्तमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ।


