विजयपुर–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा सम्पन्न
हिराराज राई,धनकुटा । पौष २७ गते ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना भीमदलगण सल्लेरी ब्यारेक धनकुटाद्वारा आयोजित विजयपुर–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा सम्पन्न भएको छ।
पदयात्राको क्रममा धरानस्थित विजयपुर गढीमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रबिक्रम वेघा, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, धनकुटा तथा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, धनकुटा प्रहरी प्रमुख, नेपाली सेना धरान र भीमदलगण सल्लेरी ब्यारेकका प्रमुखहरू, होटल एशोसिएसन भेडेटारका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ऐतिहासिक स्थलहरू हुँदै सञ्चालन गरिएको यस निशान पदयात्राले पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता तथा देशको सार्वभौमिकताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।
पदयात्राको समापन कार्यक्रम ऐतिहासिक साँगुरीगढीमा आयोजना गरिएको थियो। समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणी पराजुली रहनु भएको थियो। उहाँले राष्ट्रिय एकता, इतिहास संरक्षण तथा युवापुस्तामा राष्ट्रप्रेम जगाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाली इतिहास, संस्कृति र राष्ट्रिय एकतालाई मजबुत बनाउने सन्देश दिने उल्लेख गर्दै नेपाली सेनाले गर्दै आएको यस्ता ऐतिहासिक तथा राष्ट्रवादी गतिविधिको प्रशंसा गरेका थिए।



