कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी

काठमाडौ । नेपाली कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका विभिन्न प्रस्तावहरूमा सोमबार रातभर छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । संवादमा सक्रिय नेताहरूले सहमतिको सम्भावना अझै बाँकी रहेको भन्दै प्रयास निरन्तर जारी रहने बताएका छन् ।

भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको तेस्रो दिन आज बन्दसत्र आयोजना हुँदैछ । बन्दसत्रमा महामन्त्रीहरूले पेस गरेका प्रतिवेदनमाथि सुझाव संकलन र पारित गर्ने, विधान संशोधन गर्ने, निर्वाचन समिति लगायतका समितिहरू भंग गरी नयाँ गठन गर्ने तथा निर्वाचन कार्यक्रम अगाडि बढाउने कार्यसूची तय गरिएको छ । महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि तयार देखिए पनि सहमतिको प्रक्रिया भने ‘पावर सेयरिङ’को विषयमा अड्किएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समूहको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । उनीहरूले संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचनमा कम्तीमा ४० प्रतिशत टिकट विशेष महाधिवेशन पक्षधरलाई दिनुपर्ने अडान लिएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार, “सम्मानजनक प्रतिनिधित्व भनेको कम्तीमा ४० प्रतिशत टिकट सुनिश्चित हुनु हो भन्नेमा कुरा आएको छ ।”

त्यसैगरी विशेष महाधिवेशन पक्षधरहरूले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्नुपर्ने स्पष्ट अडान पनि राखेका छन् । उनीहरूको माग अनुसार कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनुपर्ने र तीमध्ये कम्तीमा ४० प्रतिशत, अर्थात् करिब ६६ जना उम्मेदवार विशेष महाधिवेशन पक्षधर समूहबाट हुनुपर्नेछ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरूको अपमान गरेको आरोप लगाउँदै सहमतिका लागि सम्मानजनक व्यवहारलाई न्यूनतम शर्तका रूपमा अघि सारेका छन् । एक केन्द्रीय सदस्यका अनुसार, “विशेष महाधिवेशनमा सक्रिय भएकै कारण भोलि कसैप्रति पूर्वाग्रह राखिनु हुँदैन । त्यसैले संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचन दुवैमा हाम्रो बलियो उपस्थिति आवश्यक छ ।”

उनले गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूह र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूहलाई अलग रूपमा बुझ्नुपर्ने धारणा पनि राखे । उनका अनुसार डा. शेखर कोइराला अहिले संस्थापन पक्षकै हिस्सामा रहेकाले उनको व्यवस्थापन संस्थापनले गर्नुपर्नेछ भने विशेष महाधिवेशन पक्षधर कांग्रेसभित्र अलग शक्ति भएको स्वीकार गरिनुपर्ने अवस्था आएको छ ।

यसका साथै विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनको स्वामित्व लिनुपर्ने, महाधिवेशनबाट पारित हुने निर्णयहरू स्वीकार गर्नुपर्ने, पार्टी सुधारका लागि महामन्त्रीहरूले अघि सारेका प्रस्तावहरू ग्रहण गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् । सहमति जुट्न नसके पनि छलफल जारी राख्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।